बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

Posted on: 22 Jan, 2018

माघ ८, म्याग्दी | जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ । 

सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बागैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् । 

कृषकले खानेपानी आयोजनाको धाराको पानी प्लास्टिकको पोखरीमा संकलन गरेर बगैँचामा सिँचाइ गर्न पोखरी निर्माण अभियान सञ्चालन गरेका हुन् । पोखरीसँगै सुन्तला खेतीमा देखिने रोग किराको गाईभैँसीको गहुँत प्रयोग गरेर व्यवस्थापन गर्ने र गुणस्तरीय मल आपूर्ति गर्न भकारो सुधार अभियान पनि चलाइएको बाँसखर्कस्थित बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो । 

सहकारीको नेतृत्वमा हालसम्म करिब १० वटा पोखरी निर्माण गरिएको छ । गत वर्ष सबै बगैँचामा हिलटेक ड्रममा पानी संकलन गरेर सिँचाइ गर्ने अभ्यास गरिएको थियो । ड्रमको पानीले पर्याप्त नभएपछि १० हजार लिटर क्षमताको पोखरी बनाएर त्यसमा रातिको समयमा पानी संकलन गरी दिउँसो सिँचाइ गर्न थालिएको खत्रीले बताउनुभयो । 

दुई ६१ घरघुरी रहेको बाँसखर्कमा करिब २०० घरधुरीले १५० हेक्टर पाखोबारी र खेतमा सुन्तला खेती गरेका छन् । बाँसखर्कमा केही वर्षयता सुन्तलाको नयाँ बिरुवा र बगैँचा थपिने क्रम बढे पनि सिँचाइको व्यवस्था हुन सकेको छैन । पुसदेखि जेठसम्म सुन्तलाको बगैँचामा सिँचाइ गर्न समस्या हुने गरेको कृषक नरबहादुर खत्रीले बताउनुभयो । 

सुन्तला खेतीलाई सुख्खायाममा नियमित सिँचाइको आवश्यकता पर्छ । बाँसखर्कमा सिँचाइका लागि म्याग्दी र पर्वतको सिमानामा पर्ने महभिरको पुम्दी खोलाबाट पाइपमा पानी ल्याउन नयाँ सिँचाइ आयोजना निर्माण गर्नुपर्ने कृषकको माग छ । 

पश्चिम फर्किएको बाँसखर्कको हावापानी र भूगोल सुन्तला खेतीका लागि अनुकूल छ भने यहाँको सुन्तला यस क्षेत्रकै उत्कृष्ट मानिन्छ । बाँसखर्कका बासिन्दाको मुख्य आयस्रोत सुन्तला खेती बनेको कृषक नन्दबहादुर खत्री बताउनुहुन्छ । कृषकले कोदो, धान, मकै र गहुँ खेती हुने खेतबारीमा सुन्तला खेती गरेका छन् । सुन्तला खेतीले बाँसखर्कको कृषकको जीवनस्तरमा सुधार ल्याएको छ । यहाँका कृषकले वार्षिक रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री गर्ने गरेका छन् । प्रतिघरधुरीले सुन्तला बेचेर रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्छन् । 

बढी मूल्य पाउने समयमा मात्र कृषकले सुन्तला बिक्रीका लागि बजार पठाउने गर्छन् । गाउँबाटै प्रतिकिलो न्यूनतम रु १०० मा सुन्तला बिक्री हुने गरको कृषक शिव खत्रीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!