सुन्तलामा देखिन थाल्यो नयाँ रोग, किसान चिन्तित

Posted on: 29 Jan, 2018

माघ १५, म्याग्दी | सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ । 

अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ राखुका खिम पुनले बताउनुभयो । 

राखु, मरेक, बास्कुना, बरञ्जा, भोर्नेनी, रुन्मा, ताकम, बिम, दोसल्ले, भुरुङ, नारच्याङ, घारको बगैँचामा कालो दाग लाग्ने रोग फैलिएको छ । दाग लागेको सुन्तलाको दाना कृषि प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । कत्लेकीरा, सुतिमोल्ड र मिलीबग कीराका कारण सुन्तलामा कालो दाग लाग्ने समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । 

“प्रकोपका रुपमा फैलिन थालेकाले नियन्त्रणका लागि पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “बगैँचाको सरसफाइ र व्यवस्थापन नहुँदा यस्तो समस्या देखिएको हो ।” कृषि विज्ञ र प्राविधिकको टोलीले बेनी नगरपालिका–३ राखुको सुन्तला बगैँचाको निरीक्षण गरी कृषकसँग छलफल गरेको छ । 

क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर राना, क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत माधवप्रसाद लम्साल, कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि विज्ञ लोकनाथ अर्याल र बागवानी विकास अधिकृत थापाले बगैँचाको अवलोकन गरी कृषकसँग छलफल गरेको हो । 

म्याग्दीको ६८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने यस वर्ष दुई हजार २६५ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!