म्याग्दीमा १८ लाख लगानीमा पशुपक्षी फार्म स्थापना

Posted on: 22 Feb, 2018

फागुन १०, म्याग्दी | बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ । 


परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गर्नुभएको हो । 

फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो खरिद गर्न रु १८ लाख लगानी भएको पौडेलले बताउनुभयो । विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आउनुभएका उहाँले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गर्नुभएको हो । 

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक÷एकवटा जर्सी गाई र राँगो रहेको छ । तीन जनाले पूर्णरुपमा रोजगारी पाएका छन् । दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रतिलिटर रु ७० का दरले दूध बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । पौडेलले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा जोड्नुभएको छ । छोराछोरीको पढाइ र घरव्यवहार चलाउन आम्दानीको स्रोत दूध बनेको छ । 

पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गर्नुभएको थियो । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैँसीपालन शुरु गर्नुभएका उहाँले भैँसी खरिद बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले जिल्ला पशुसेवा कार्यालयबाट व्यावसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम लिनुभएको छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!