बेनी बजारमा फस्टाउँदै कौसी खेतीः घरको छतमा लटरम्म तरकारी

Posted on: 11 Sep, 2019

भदौ २५, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमीन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि डल्ले खुर्सानी फलाउनुभएको छ । 

बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उहाँले डल्ले खुर्सानी कोशेली दिएर पठाउनुहुन्छ । छतमा करीब ४१ वटा बोटबाट खुर्सानी टिपेकी राम्जालीले हङकङ र यूकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत प्याक गर्नुभएको छ । विगत डेढदशक नियमित कौसीखेती गर्दै आएकी उहाँलाई श्रीमान्ले समेत नियमित सघाउनु हुन्छ । 

करीब नौ फिटको छतमा फूलसँगै हावापानीका अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आर्कषक देखिएको छ । 

“कौसीखेतीले व्यस्त बनाएको छ, घरमा आवश्यक तरकारी किन्न वाहिर जानुपर्दैन”, राम्जालीले भन्नुभयो । उहाँले सिजन अनुसारका तरकारी खेती गरेर बढी भएको तरकारी बजारमा बेच्नेसमेत गरेको बताउनुभयो । गमला तथा थौलोमा माटो र मल तथा नियमित पानीको प्रयोगले खेतबारीमा जस्तै राम्रो फल दिने उहाँको भनाइ छ ।

पछिल्लो समय बजारमा डल्ले खुर्सानी प्रति केजी रु ४०० सम्ममा बिक्री हुन थालेपछि पहिलोपटक कोशेली घरमा समेत बिक्री गरेको राजु राम्जालीले बताउनुभयो । उहाँका अनुसार ज्यानमारा, रागे र अकबरे खुर्सानीमध्ये डल्लेको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरजस्ता रोगको औषधिसमेत हुने भएकाले खेती गरेको बताउनुभयो । “कौसीखेती अर्गानिक पनि हो, आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ”, उहाँले भन्नुभयो ।

श्रीमतीसँग दैनिक नियमित तरकारीको रेखदेख, पाउनलाई कोशेलीको रुपमा उपहारसहित होटलमा माग हुने कोरियनलगायत विभिन्न तरकारी घरबाटै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अगामी वर्षदेखि होटलमा विक्री गर्ने उहाँको योजना रहेको छ । 

जिल्लाको मङ्गला गाउँपालिका–१ कुहुँ घर भएका राम्जाली दम्पतीले गाउँबाट कम्पोष्ट मल ल्याएर प्रयोग गर्ने गरेका छन् । राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन् । कौसी बगैँचालाई बेनी नगरपालिका–७ ले समेत अनुदान दिने गरेको छ । व्यक्तिगतरुपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

“कौसीखेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ”, उहाँले भन्नुभयो । “कौसीखेतीका लागि चालू आर्थिक वर्षमा रु डेढ लाख बजेट विनियोजन भएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यो बजेटमा गमला वितरण, निःशुल्क तालीम र प्राविधिक सहयोग दिने योजना रहेको छ ।” कौसीखेतीमार्फत घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहँुदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा वर्षेनी कराडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लाष्टिकको गमलामा समेत खेती गर्न सकिन्छ । करीब रु पाँच हजारको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरीद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन् । 

हरेक किसिमका तरकारीको पसलै पिच्छे फरक–फरक मूल्यले हैरान बजारवासीको कौसीखेतीमा आर्कषण बढेको छ । अहिले बेनी बजारका अधिकांश घरको छतमा गरिएको तरकारी खेतीले बजारमा आयातित तरकारीको माग समेत कम भएको स्थानीय तरकारी व्यवसायीले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!