म्याग्दीमा जलविद्युत् आयोजनाको काम तीव्र

Posted on: 19 Jan, 2017

माघ ६, म्याग्दी । सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो । 

उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सवस्टेसनको अभावमा अनुमति लिएर बसेका दर्जनाँै आयोजनाको काम अघि बढेको छ । म्याग्दीको नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको छ । 

बेगमा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, पिप्लेमा ४० मेगावाटको राहुघाट, नारच्याङमै ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनाले समेत पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् । मुस्ताङको टुकुचेमा १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

नौ वर्षअघि रोवष्ट इनर्जी प्रालिले निर्माण प्रक्रिया थालेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु गरेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । “वित्तीय व्यवस्थापन र अन्य प्रक्रियागत काम पूरा गरे पनि सवस्टेसन र प्रसारण लाइन कुरेर बसेका थियौँ”, शर्माले भन्नुभयो – “जति छिटो पूर्वाधार बन्छ, त्यति गतिमा आयोजनाको काम अघि बढाउँछौँ ।” 

नारच्याङमै निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाले पनि आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सुरुङ, बाँध र विद्युत्गृह बनाउने काम तीव्र रुपमा अघि बढाएको जनाएको छ । 

घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बहुप्रतिक्षित सवस्टेसन र प्रसारण लाइनको काम सुरु भएसँगै कालीगण्डकी र आसपासका नदीमा जलविद्युत् आयोजना बनाउन लगानीकर्ता सक्रिय बनेका बताउनुभयो । 

“जेनेरेसन लाइसेन्स लिई पिपिए गरेर बसेका आयोजना अघि बढाउन राम्रो वातावरण बनेको छ” केन्द्रीय सदस्य श्रेष्ठले भने “म्याग्दी मात्र नभएर समग्र धौलागिरि क्षेत्रमा जलविद्युत् विकासको सम्भावना बढेको छ ।” 

विसं २०७५ को साउनमा सम्पन्न गर्ने लक्ष्यसहित दाना र कुश्मामा सवस्टेसनका साथै प्रसारण लाइनको काम गर्न रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी टाटा प्रोजेक्ट चिन्ट इलेक्ट्रिकले कार्यक्षेत्रमा परिचालित भएर कामलाई तीव्रता दिएको छ । 

ठेकेदारले सवस्टेसन निर्माण हुने ठाउँको जग्गा सम्माउने र घेराउ गर्ने काम सकेर पूर्वाधार निर्माण सुरु गरेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । उहाँका अनुसार ट्रान्समिसन लाइनको नक्साङ्कनको काम पनि अन्तिम चरणमा पुगेको छ । “निर्धारित समयभित्रै आयोजना सक्ने लक्ष्यसहित काम अघि बढाएका छौँ”, प्रमुख घोषले भन्नुभयो – “स्थानीयस्तरबाट सहयोग, विपद्लगायतका समस्या नभए निर्धारित समयमै आयोजना सम्पन्न हुन्छ ।” 

सवस्टेसन बनाउन दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । पर्वतको खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सवस्टेसन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । खुर्कोटमा जग्गा अधिग्रहण प्रक्रियामा मुआब्जामा सहमति नजुट्दा आयोजनाको काम करिब डेढ वर्षपछि धकेलिएको हो । 

दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!