म्याग्दीको नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम

Posted on: 07 Sep, 2017

भदौ २२, म्याग्दी। जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् । 

नारच्याङमा अहिले पाँचवटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ । 

अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको सो आयोजनाको करिब एक हजार ७०० मिटर लामो सुरुङ निर्माण सकिएको छ । 

सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण सहज भएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो । सो आयोजना जिल्लाकै लगानीकर्ता र प्रवद्र्धकको प्रयासमा निर्माण हुन लागेको पहिलो आयोजना हो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको छ । 

आयोजनाबाट २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ । आयोजनामा लुम्बिनी र टुरिजम् डेभलपमेन्ट बैंकले रु ५५ करोड लगानी गरेका छन् । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ । 

नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको काम विगत करिब एक वर्षदेखि दु्रत गतिमा बढेको छ । निलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध रहने यस आयोजनाको दुई हजार ३०० मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । 

पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९६० मिटरभन्दा बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङका आवासिय इन्जिनियर दिवाकर खड्काले बताउनुभयो । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । 

नारच्याङमै निलगिरि खोलाबाट जलविद्युत् उत्पादनका लागि दुईवटा आयोजनाको काम अगाडि बढेको छ । अठतीस मेगावाटको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यास्केटका प्रवद्र्धकले निलगिरि खोलाको किनार हुँदै सडक निर्माण भइरहेको स्थानीय जनजागरण युवा क्लबका तमबहादुर चोचाङ्गीले बताउनुभयो । 

नारच्याङमा विसं २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलोपटक विद्युत्् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । 

दर्ता भएकामध्ये १० मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेको छ भने १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा छन् । लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३०० रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेकाले उक्त आयोजना लगानीकर्ताको खोजीमा छ । 

जलविद्युत् आयोजनासँगै गाउँमा भौतिक पूर्वाधार विकासले गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सबस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण शुरु गरेपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर पनि लामो समयदेखि दर्तामै थन्किनु परेको थियो । रासस) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!