म्याग्दीमा वैकल्पिक सडक निर्माण

Posted on: 25 Jan, 2018

माघ ११, म्याग्दी | म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । 

बेनी नगरपालिका–७ महारानीथान हुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ । 

११.५ किलोमिटर दूरीको यो सडक बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताउनुभयो । सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुंगा, भिरमुनि, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दा लाभान्वित भएका छन् । 

पहिला साँघुरो र ग्रेड नमिलेको बाटो मात्र खोलिएको सडकलाई बेनी नगरपालिकाको सहयोगमा फराकिलो र सुधार गरेपछि जिप, माइक्रोबस, ट्र्याक्टर चल्न सक्ने भएको छ । उक्त सडकलाई नगरपालिकाले चालू आवमा रु १० लाख विनियोजन गरेको छ । 

पहिलो चरणको काम अन्तिम चरणमा पुगेको र योजनालाई निरन्तरता दिन सडक बोर्डको कार्यक्रमबाट थप रु १० लाख पनि विनियोजन भएको बेनपा–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो । सडक निर्माण भएपछि स्थानीयवासीले बेनी आउन जानका साथै कृषिउपज ढुवानी गर्न राहत मिलेको छ । 

पैदल एक घण्टा हिँड्नुपर्ने बाटो मोटरसाइकल, जिप चढेर २० मिनेटमै पूरा गर्न सकिने भएको अध्यक्ष खड्काले बताउनुभयो । बेनीदेखि ठूलो खोलासम्म कुनै कारणले बेनी दरवाङ सडक अवरुद्ध हुँदा यो सडकलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!