म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लघुजलविद्युत् उत्पादन परीक्षण सफल

Posted on: 04 Feb, 2018

माघ २१, बाबियाचौर (म्याग्दी) | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ । 

पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताउनुभयो । 

विद्युत्गृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उहाँले बताउनुयभो । गत पुस दोस्रो साता सडक मार्ग भएर शिख पुर्याइएको तार, जेनेरेटर, टर्वाइन लगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण शुरु भएको थियो । सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ । 

रु एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताउनुभयो । 

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पुर्याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । - रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!