पर्यटकीय पूर्वाधार निर्माण

Posted on: 31 Dec, 2018

पुस १६, म्याग्दी (रासस) |  अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न समुदायले चन्दामार्फत करोडौँको पूर्वाधार निर्माण गरेका छन् । 

रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गरिएको हो । म्याग्दीलगायत देशका विभिन्न ठाउँ र विदेशमा रहेका पुन समुदायबाट चन्दा सङ्कलन गरेर पूर्वाधार निर्माण गरिएको करबाकेलीका संरक्षक चामबहादुर पुनले बताउनुभयो । 

२०६९ मङ्सिरमा रु ७४ लाख लगानीमा स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान निर्माण भएयता पूर्वाधार विस्तार रोकिएको छैन । थानभित्र बहुमूल्य धातुले जलप लगाएको पुन समुदायका कुल देवता करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति राखिएको छ । 

यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । करबाकेलीसम्म पुग्ने करीब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरिएको छ । करबाकेली परिसरमा करीब एक हजार क्षमताको सभाहल निर्माण भएको स्थानीय चेन्तु गर्बुजाले बताउनुभयो । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ । 

समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ्र«े, अन्नपूर्ण, टुकुचेलगायत १० हिमशृङ्खलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृष्य देखिन्छ । 

पूर्वाधार निर्माण भएपछि करबाकेलीमा भक्तजन र पर्यटकको चहलपहल बढेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि गत वर्षदेखि रु ४५ लाखको लगानीमा सामुदायिक होटल सञ्चालन गरिएको रवि गर्बुजा पुनले बताउनुभयो । 

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा गत वैशाखदेखि ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताउनुभयो ।

घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ । 

करबाकेलीमा म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गर्ने तयारी भएको संरक्षक पुनले बताउनुभयो । भवन निर्माण र सामग्री खरीदमा रु ६० लाख लागत अनुमान गरिएको सङ्ग्रहालय सञ्चालनका लागि दाताको खोजी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!