पदमार्ग निर्माण गर्न जङ्गलमै बास, कहिले सकिन्छ काम ?

Posted on: 09 Jun, 2020

जेठ २७, म्याग्दी। बन्दाबन्दी जारी रहँदा म्याग्दीको रघुगङ्ण गाउँपालिका–७ चिमखोलाका बासिन्दा जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटिरहेका छन् । 

धवलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको भौगोलिकरूपमा विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयवासी जङ्गलमै बास बसेका हुन् । वैशाख अन्तिम हप्ता पदमार्ग निर्माणका लागि गएका चिमखोलावासी विभिन्न दुख, कष्ट सहेर अप्ठ्यारो पहाडमा जोखिम मोलेर पदमार्ग खनिरहेका छन् । 

जङ्गलमै बसेर काम गरिरहेका उपभोक्ता समितिका अध्यक्ष धु्रवकुमार पाइजाले बताउनुभयो । उहाँका अनुसार दैनिक ७० जनाले पदमार्ग निर्माणमा काम गरिरहेका छन् । पदमार्ग निर्माणस्थल ससलधारा पुग्न चिमखोलाबाट नौ घण्टा पैदल हिँड्नुपर्छ । 

ओढार र पाल टाँगेर पदमार्ग निर्माणमा खटिएका मजदुरलाई खानेबस्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य सुरक्षा सतर्कता र भौतिक दूरी कायम गरेर मजदुर परिचालन गरिएको स्थानीय अगुवा गम पुनले बताउनुभयो । विपन्न र बेरोजगारलाई रोजगारीको अवसर मिलेको छ । धवलागिरि हिमालको आधार शिविर नजिकै पर्ने उक्त स्थानमा पदमार्ग बनाउन पर्यटन मन्त्रालयले गाउँपालिकामार्फत रु ५० लाख विनियोजन गरेको छ । हिउँ पग्लिएलगत्तै शुरु भएको पदमार्ग निर्माणको काम बर्खा शुरु नहुँदासम्म जारी हुनेछ । 

नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माणको काम भइरहेको छ । विसं २०७५ भदौमा रघुगङ्गा नदीमा आएको बाढीले ४०० मिटर भिरको फेदीको पदमार्ग बगाएपछि घुमाउँरो बाटो हिँड्नुपर्ने भएको थियो । भीरमा पहाड फुटाएर, सिँढी चिनेर ४० मिटर नयाँ पदमार्ग बनाइएको छ । 

ससलधारामा पदमार्ग निर्माण भएपछि रुइसे हुँदै धवलागिरि आइसफल जाने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । बेनी–जोमसोम पुरानो पदमार्ग सडकमा परिणत भएपछि त्यसको विकल्पमा गलेश्वरबाट मुस्ताङको लेत जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!