म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव

Posted on: 05 Nov, 2016

कात्तिक २०, म्याग्दी । म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको आयोजनामा शुक्रबार गलेश्वरमा बसेको सर्वदलीय बैठकले जिल्लामा पाँच वटा गाउँपालिका र एक नगरपालिका बनाउने निर्णय गरेको हो ।

सांसद र राजनीतिक दलको सुझावको आधारमा तयार पारिएको प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाइने समितिका सदस्य सचिव एव्म जिविसका योजना अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।

पात्लेखेत र भकिम्ली गाविसलाई बेनी नगरपालिकामा समावेश गर्ने तथा पोखरेबगर केन्द्र रहने गरी दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाविसलाई समेटेर अन्नपूर्ण गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै ताकम र मुना मध्ये एक ठाउँमा केन्द्र रहने गरी ताकम, गुर्जा, मुना, मुदी, मराङ र मल्कवाङलाई समेटेर धौलागिरि गाउँपालिका बनाउने निर्णय भएको छ । बेगखोला, भगवती, पिप्ले, दग्नाम, चिमखोला, कुइनेमङ्गले, पाखापानी र झिँलाई समेटेर बनाइने रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट र पाखापानी मध्ये एक ठाउँमा बनाउन सिफारीस गरिएको छ ।

त्यसैगरी बरंजा, अर्मन, कुहुँ र बावियाचौरलाई समाबेश गरेर बनाइने मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बनाउन प्रस्ताव गरिएको छ । दरवाङ बजारमा केन्द्र रहने मालिका गाउँपालिकामा दरवाङ, रुम, ओखरबोट, देवीस्थान, बिम र निस्कोट गाविस प्रस्ताव गरिएको योजना अधिकृत पौडेलले बताए ।

भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डको आधारमा राजनीति सहमतिमा स्थानीय तहको प्रस्ताव गरिएको म्याग्दीका स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक चिरञ्जीवी पौडेलले बताए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!