क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय

Posted on: 06 Feb, 2018

माघ २३, म्याग्दी | बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । 

क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । 

क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत हुनुहुन्छ । अपांगता भएका विद्यार्थीका लागि पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापति सावित्री खत्रीले बताउनुभयो । 

क्याम्पससँगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहीनका लागि पुस्तकालय स्थापना गरिने उहाँले जानकारी दिनुभयो । बोल्ने कम्प्यूटर, ब्रेल लिपि, ब्रेल पेनसहितको शैक्षिक सामग्री र श्रव्य पुस्तकसमेत पुस्तकालयमा राखिनेछ । 

करिब रु पाँच लाखको लागतमा बन्ने सो पुस्तकालयका लागि म्याग्दी विकास मञ्चले रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले छुट्टै पुस्तकालय बनाउने अभियानमा रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो । 

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र म्याग्दी विकास मञ्चका महासचिव दिनेशनाराण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन पुस्तकालयले सक्दो भूमिका निर्वाह गर्नेमा जोड दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!