म्याग्दीको जयन्ती माविको भवन निर्माणका लागि पन्ध्र लाख सहयोग

Posted on: 19 Feb, 2018

फागुन ७, म्याग्दी  | बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ । 

बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि उक्त सहयोग गरेको हो । संस्थाका पाउल भान्द्रेले बेल्जियमबाट पठाउनुभएको उक्त रकम अन्नपूर्ण गाउँपालिका–६ चित्रेका दीपक पुनमार्फत वडाध्यक्षसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनलाई आइतबार हस्तान्तरण गर्नुभयो । 

चित्रेकी नीता बुद्धुजा पुनसँग विवाह गरेका पाउलले गत वर्ष बेल्जियममा रहेका भकिम्लीका लोकबहादुर रानासँगै विद्यालयको निर्माणाधीन भवनको अवलोकनका क्रममा सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । हिमालयन प्रोजेक्टको सहयोगमा चित्रेमा सामुदायिक क्लिनिक सञ्चालन भएको छ । उक्त संस्थाले जिल्लाका अन्य विद्यालयमा समेत पूर्वाधार निर्माणमा सहयोग गरेको छ । विसं २०७२ को भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेपछि २०७३ देखि दशकोठे नयाँ भवन निर्माण शुरु भएको थियो । 

अन्तिम चरणमा पुगेको उक्त भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ । रु डेढ करोड खर्च भइसकेको छ । जिल्ला शिक्षा कार्यालयले रु १९ लाख ५० हजार र तत्कालीन भकिम्ली गाविसले रु दश लाख उपलब्ध गराएको थियो । कक्षा दशसम्म पठनपाठन हुने विद्यालयमा दुई सयजना विद्यार्थी अध्ययनरत छन् । 

यसैगरी, रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको कक्षा कोठा भवन पुनःनिर्माणका लागि हङकङमा आर्थिक सहयोग संकलन अभियान चलाएका छन् । जीर्ण अवस्थामा रहेको पुरानो भवन विस्थापित गरी नयाँ भवन निर्माणका लागि हङकङमा बस्दै आएका बेगखोलावासी आबद्ध बेगखोला कल्याणकारी समाज, हङकङले सहयोग जुटाउन अभियान थालेको हो । 

समाजले हङकङमा आयोजना गरेको कार्यक्रममा बेगखोला, म्याग्देली र अन्य नेपालीबाट एकै दिनमा रु १२ लाख २० हजार जुटाइएको समाजका अध्यक्ष गिरी शेरपुञ्जाले बताउनुभयो । प्रवासमा रहेका बेगखोलावासीको पहलमा यसअघि गाउँमा सडक पुर्याइएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!