जनसहभागितामा सामुदायिक भवन

Posted on: 26 Sep, 2018

असोज १०, म्याग्दी (रासस) | अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । 

स्थानीयवासीले घारको भगवती मन्दिर परिसरमा रु १४ लाखको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु ६ लाख विनियोजन गरेको थियो । स्थानीयस्तरबाट थप रु आठ लाख जुटाएर भवन निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर खड्काले बताउनुभयो । 

भवन निर्माण गर्न कोत मन्दिर पूजा व्यवस्थापन समितिले रु दुई लाख, घार समाज जापानले रु एक लाख २२ हजार, वन उपभोक्ता उपसमितिले रु दुई लाख ५० हजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ५० हजार तथा जनजागृति आमा समूहले रु एक लाख सहयोग गरेको हो । करीब १५० जना अटाउने सभाहल रहेको सो भवनको पहिलो तलामा पुजारी निवास र आमा समूहको कार्यालय राख्ने योजना छ । भवन निर्माणपछि तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडासदस्य रामबहादुर खड्काले बताउनुभयो । 

विसं २०१८ मा निर्माण गरिएको सो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको थियो । भवन परिसरमा रु एक लाख ७५ हजारको लागतमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण समेत निर्माण गरिँदै छ । घारको कोत मन्दिरमा बडादशैँको समयमा विशेष मेला लाग्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!