अन्नपूर्णमा ७० लाखको आकस्मिक कोष

Posted on: 29 Mar, 2020

चैत १६, गलकोट | उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु ७० लाखको आकस्मिक कोष स्थापना गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न रु ७० लाख बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

गाउँपालिकाका आठ वटै वडामा तीन÷तीन श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ भने भुरुङ तातोपानीको सर्वोदय माविमा थप आवश्यकता परेकालाई राखिने अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाभित्र कोरोनाको जोखिमलाई मध्यनजर गरी गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतामा प्रशासकीय अधिकृत सुवेदी, वडा नं २ का अध्यक्ष ओमबहादुर फगामी, कार्यपालिका सदस्य आत्म तुलाचन र स्वास्थ्य संयोजक समुन्द्र बरुवाल सदस्य रहेको एक्सन टोलीसमेत गठन भएको छ । 

त्यस्तै अध्यक्ष पुनको व्यक्तिगत खर्चमा दुई र पालिकाले तत्काललाई सात  वटा गरी नौ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) समेत व्यवस्था गरिएको छ । एक्सन टोलीले गाउँपालिकाभित्र आवश्यकता परेमा तत्काल सहयोग गर्ने गरी थप निर्णय गर्न सक्ने अध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकाले विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था सङ्कलन गरी चैत १ गते यताकालाई क्वारेन्टाइनमा राख्ने भन्दै तत्काल सम्पर्कमा आउनसमेत अनुरोध गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!