बाढीले बगायो सडक, पुल र मन्दिर , एक बेपत्ता

Posted on: 21 Jul, 2020

साउन ६, म्यग्दी | निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । 

अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । 

बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ । रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो । रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ । 

मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्स्ट्रक्शनको एक एक्साभेटर (डोजर) र पार्किङ गरेर राखिएको बस बगाएको छ । दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्सेखोलामा ठूलो बाढी आएको थियो । विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्सेखोला कालीगण्डकीमा मिसिन्छ । कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ । दानाका स्थानीयवासी जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । रुप्से ब्लक उद्योग पनि बगाएको छ । दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सवस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ । 

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी र रेडक्रसको भवनलगायत ३० भन्दा बढी घर जोखिममा परेका छन् । नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीको दोभानस्थित जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ । बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाइसकेको छ । कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । 

राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडाँै सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पुर्याएको छ । सडक, मोटरेबल र झोलुङ्गे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावत बन्द भएको दानाका गङ्गा पुनले बताउनुभयो । यसअघि गत असार २५ गते रघुगङ्गा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएकाले पूर्णरूपमा सिधा यातायात सञ्चालनका लागि थप समय लाग्ने देखिएको छ । 

धवलागिरि हिमालको आसपासका क्षेत्रमा भारी वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगङ्गा नदी र सहायक खोलामा बाढीको सतह बढेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीका प्रमुख यी तीनवटै नदीको पानीको स्रोत हिमालहरु हुन् । म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सामानसहित सुरक्षित ठाउँमा सारिएको बताउनुभयो । कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ–तातोपानीको तल्लोबजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसोसमेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!