पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति

Posted on: 14 Aug, 2020

साउन ३०, म्याग्दी | म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पुर्याएको छ । 

कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा परेका छन् । धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर जलजला गाउँपालिका–७ मिलनचोक स्थित १४ नम्बरको टावर ढलेको छ । नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ । 

टावर ढल्दा रु तीन करोड ५० लाख बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो । थप चार वटा टावर पहिरो र कटानका कारण जोखिममा परेका छन् । जलजला गाउँपालिका–२ टमिलाखर्कको टावर जोखिममा परेको छ । “महभिर, धिरच्याङ र दाना सवस्टेशन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भैरहेको छ”, आयोजनाका सहायक निर्देशक लक्षमण फुँयालले भन्नुभयो, “सवस्टेशनमा थप कटान हुन् नदिन संरक्षणको योजनाका लागि बोलपत्र आह्वान भइसकेको छ ।”

प्रसारण लाइनको टावर वरपरका क्षेत्रमा निर्माण गरिएका सडकका कारण क्षति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि खनिएको माटोको व्यवस्थापन नहुनु, भत्काएको ठाउँमा संरक्षण नभएका कारण प्रसारण लाइनमा असर पुगेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि शुरु गरेको ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । ११४ वटामध्ये पोखरे बगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको छ । रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको आयोजनाअन्तर्गत दाना र खुर्कोटको सवस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन लागिएको हो । दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रसारण लाइन र सवस्टेशनसमेत निर्माण शुरु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!