म्याग्दीमा पहिरोले २९ घर विस्थापित

Posted on: 16 Jun, 2021

असार २, म्याग्दी । केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्याएको हो । पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । “एउटा गोठ पहिरोले पुरिएको छ, पहिरोले क्षति पुर्याएका र जोखिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ”, उहाँले भन्नुभयो “सँयौ रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ ।” 

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।  घरभित्र पहिरो पसेको, आँगन भत्केको र गोठ पुरिएको स्थानीय शिक्षक खेम पुनले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो । 

मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ । घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीयवासी नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।  यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ । बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्क हिलाम्मे बनाएको छ । 

निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताउनुभयो । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । 

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमङ्गले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ । तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

शिखको स्वाँतखोलामा रहेको मोटरेबल पुलसम्म पुग्ने बाटो पहिरोले बगाएको छ । घारखोलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन पुलको पनि निर्माण सामग्री बगाएको छ । पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन अर्को मोटरेबल पुल ढलानमा प्रयोग भएका सामानसमेत बगाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!