कावासोतीमा कांग्रेस नेता रामचन्द्र पौडेल: स्वतन्त्र निकायलाई कमजोर पारेको आरोप

Posted on: 06 Jan, 2019

पुस २२, कावासोती (रासस) | नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले स्वतन्त्र निकायलाई कमजोर पार्दै गएको आरोप लगाउनुभएको छ । 

नवलपरासी पूर्वको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको ‘सूर्यभक्त–पतानादेवी’ स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले सरकारले भ्रष्टाचारीलाई ढाकछोप गर्ने काम गरेको आरोपसमेत लगाउनुभयो । उहाँले महासमिति बैठक सफल भएको र यसले काङ्गे्रसलाई एकजुट भएर अगाडि बढ्न सन्देश दिएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले नेताहरुलाई मिल्न भन्दै तल्ला तहमा गुटबन्दी गर्ने काम बन्द गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘सूर्यभक्त–पतानादेवी’ स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष चार जना पत्रकारलाई सम्मान गरिएको छ । 

प्रजातन्त्रका सेनानी एवं नेपाल किसान सङ्घका संस्थापक अध्यक्ष सूर्यभक्त अधिकारीको स्मृतिमा उहाँका ज्येष्ठ सुपुत्र मदनभक्तको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो । विसं २०७४ को पुरस्कारबाट पत्रकार पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई सम्मान गरिएको छ भने विसं २०७५ को पुरस्कारबाट पत्रकार वसन्तप्रकाश उपाध्याय र पोषण केसीलाई सम्मान गरिएको हो । पुरस्कारको राशी जनही रु २५ हजार र सम्मानपत्र रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!