काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा

Posted on: 06 Dec, 2019

मङ्सिर २०, नवलपुर | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले कालीपूर्वको कालापानीसहितको भूभाग नेपालको भएको दावी गर्नुभयो । 

महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उहाँले यसको पूर्वको भूभाग नेपालको भएको स्पष्ट पार्नुभयो । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरेको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उहाँले उल्लेख गर्नुभयो । सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने गरिएको नदी नै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको स्पष्ट गर्नुभयो । 

सभापति देउवाले भारतले नक्सा छापेर कालापानी आफ्नो भनेकामा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाउनुभयो । अर्को एक प्रसङ्गमा पे्रस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उहाँले प्रेसमाथि हुने हमला प्रजातन्त्रमाथिको हमला भएकोसमेत उल्लेख गर्नुभयो ।  

कार्यक्रममा सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको पुरस्कार  यस वर्ष नेपाललाई प्रदान गरिएको हो । नेपाललाई रु २५ हजार र ताम्रपत्रले सम्मान गरिएको पे्रस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताउनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उहाँकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिँदै आएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!