नवलपरासीको सरावलमा आर्सेनिकका कारण चुनौति: अध्यक्ष चौधरी

Posted on: 07 Jun, 2018

मोहन पौडेल । जेठ २४, परासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शुद्ध खानेपानीको व्यवस्थाका लागि निकै चुनौति रहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभएको छ । आर्सेनिक प्रभावित सो गाउँपालिकामा करिव दुई सय फिट तलसम्म पनि आर्सेनिक युक्त पानीनै आउने गरेको उहाँले बताउनुभयो । 

गाउँपालिकाको बजेटले मात्र शुद्ध खानेपानीको पहुँचमा पुराउन सकिने अवस्था नभएको अध्यक्ष चौधरीले बताउनुभएको छ । १९ औँ राष्ट्रिय सरसफाई सप्ताह २०७५ को अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सरावल गाउँपालिकाको संयुक्त आयोजनामा विहिबार सरावलमा भएको सरसफाई सामग्री वितरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो ।

गाउँपालिकाबासीलाई शुद्ध खानेपानीको व्यवस्थाका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी सरावल गाउँपालिकाको फोहोर व्यवस्थापन गरी सरसफाई युक्त गाउँपालिका बनाउन पनि लागिरहेको अध्यक्ष चौधरीले बताउनुभयो । सरसफाई सम्बन्धि सचेतना सँगै गाउँपालिका भित्रको फोहोर व्यवस्थापनका लागि वडा नं १ को जंगल क्षेत्रमा व्यवस्था मिलाईएको र फोहोर संकलनलाई पनि व्यवस्थित बनाईने अध्यक्ष चौधरीले बताउनुभयो । यस्तै कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले सरसफाई व्यक्तिले आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुरामा भन्दा पनि सरसफाई सम्बन्धि कुराहरु व्यवहारमा प्रयोग गर्न सकिए मात्र पुर्ण सरसफाई र स्वस्थ गाउँपालिका बनाउन सकिने धारणा राख्नुभयो ।


कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मी, सरावल वडा नं ३ का वडा अध्यक्ष अणेन्द्र राय, कार्यपालिका सदस्य चन्दा चौधरी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम देवकोटा, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले सरसफाईको महत्वबारे प्रकाश पार्नुभएको थियो । सोही अवसरमा सरावल गाउँपालिकाका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकि लगायतलाई दुई/दुई वटा डष्टविन पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत भोली चौँथो दिन सुनवल स्थित महाकवि देवकोटा माविमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुदैँ छ । सामुदायिक रेडियो परासीले विभिन्न स्थानीय तह तथा संघ संस्थाहरुको सहकार्यमा सरसफाई सप्ताह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!