नवलपरासीका उखु किसानले भुक्तानी पाएनन्

Posted on: 12 Aug, 2018

साउन २७, नवलपरासी | पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । 

चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको बिक्री मूल्य दिन नमानेपछि किसान भुक्तानी पाउनबाट वञ्चित भएका हुन् । सरकारले प्रति क्विन्टन उखुको ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । किसानलाई उखु उद्योगीले प्रति क्विन्टल ४६५ रुपैयाँ ९२ पैसा दिँदै आएका छन् । 

सरकारले निर्धारण गरेको मूल्य नपाउँदा किसान ठगिएको उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । सरकारले चिनी उद्योगलाई यस अघि दिँदै आएको भ्याटबापतको सहुलियत रकम नदिएपछि उद्योगीले किसानबाटै असुल गर्ने गरेका छन् । बागमती खडसारी चिनी मिल, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी मिलमध्ये बागमती र इन्दिराले मात्र किसानको बाँकी रकम भुक्तानी गरिरहेका छन् । अघिल्लो वर्ष सरकारले उखुको प्रति क्विन्टल रु ५३१ मूल्य निर्धारण गरेको थियो । 

उचित मूल्य नपाएपछि पश्चिम नवलपरासीमा पछिल्लो समय उखु उत्पादनमा कमी आएको छ । समयमै मूल्य नपाउँदा किसान विस्तारै अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन् । आफ्नो उद्योगले प्रति क्विन्टल ४६५ रुपैयाँ ९२ पैसाको दरले उखुको मूल्य भुक्तानी गरिरहेको सो उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले बताउनुभयो । उद्योगले किसानलाई करीब ५० प्रतिशत उखुको रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । 

सरकारले निर्धारण गरेको रकम उपलब्ध गराउन उद्योगी र किसानबीच समन्वय गराइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । यहाँका चिनी उद्योगबाट करीब रु ४० करोड भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताले बताउनुभयो । जिल्लामा सात हजार हेक्टरभन्दा बढी जग्गामा उखुखेती गरिँदै आएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!