युरिया मलको अभावमा नवलपुरका कृषकहरु महँगो मुल्य तिरी डिएपि मल प्रयोग गर्न बाध्य

Posted on: 09 Sep, 2019

कमला राना मगर | भदौ १९, नवलपुर | युरीया मलको अभाव हुदा नवलपुरका धान खेति गर्ने कृषकहरुले मंहगो मुल्यमा डिएपि मल खरीद गरी प्रयोग गर्न बाध्य भएका छन् ।

युरीया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डीएपी मलमा पनी पाइने भएकोले युरीया मलको विकल्पको रुपमा केही महगो मुल्य तिरेर भएपनि कृषकहरुले डिएपि मल प्रयोग गरेका छन् ।

डिएपि मलको बजार मुल्य प्रति केजि ४३ रुपैया ९० पैसा रहेको छ भने युरिया मलको मुल्य थोकमा रु १४ रुपैया ९० पैसा र खुद्रा मुल्य प्रति किलो १८ रुपैया रहेको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ११ का कृषक बाबुलाल चौधरीले धान खेतिमा छर्ने युरिया मल नपाउदा मंहगोमा डिएपी मल प्रयोग गर्नु परेको ्बताउछन् । समयमा मल छर्न नपाउदा धानको बोटमा राम्रो फल नबस्ने भएकोले महगो डिएपी मल छर्नुपर्ने बाध्यता भएको चौधरीले बताए ।

त्यस्तै अर्का कृषक नाथुराम चौधरीले जसो तसो गरी धान रोपीयो गोडियो अहिले मलको पनि अभाव आर्थिकको अभाव भएकाले आफुले महगो मुल्यमा डिएपी मल किनेर छर्न नसकेको दुखेसो पोख्छन्  ।

धानमा राम्रो फल नलागे वर्ष भरीको परीश्रम खेर जाने बताउदै कृषक नाथुराम चौधरीले “हाम्रो दुख्ख कस्ले सुन्ने” आफनो धान खेत तिर नजर लगाउदै गुनासो गरे ।

हरेक दिन सहकारी र अन्य मल पाइने स्थानहरुमा मल सोध्ने गरेको बताउदै भदौ महीना वित्न लाग्दा समेत आफुहरुले युरीया मल नपाएकोे चौधरीले बताए ।

नाथुराम चौधरी जस्तै नवलपुरका धेरै कृषकहरु श्रावण महिनाको दोस्रो साता देखि युरीया मलको पर्खाइमा रहेका छन् । धान गोडेपछि छर्नुपर्ने  युरिया मल धान फुल खेल्ने बेला सम्म नपाउदा कृषकहरु चिन्तित बनेका छन् ।

नवलपुरका अधिकांश कृषकहरु धान खेतिमा निर्भर रहेका छन् भने यहा हिउदे र वर्षे गरी दुइ खेति धान लगाइने गरीन्छ ।

यता युरिया मल नवलपुरमा मात्र नभइ देशैभर अभाव रहेको कृषी सामग्री कम्पनि नवलपुरका शाखा प्रवन्धक रेवती लम्सालले बताए । कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै आफुहरुले सम्बन्धीत निकायमा पटक पटक ताकेता गर्ने गरेको बताउदै प्रमुख लम्सालले यही भाद्र अन्तीम साता सम्ममा कृषकहरुले मल पाउने जानकारी गराए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!