नवलपरासीमा नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

Posted on: 15 Jun, 2017

असार १, नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । 

ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । 

चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गरिएको छ । 

अब कुनै पनि खोलामा नियम विपरीत उत्खनन र निकासीका लागि स्काभेटर, टिपर र ट्रयाक्टर प्रयोग गरिएको पाइएमा नियमअनुसार कारबाही गरिने समेत सो समितिले जनाएको छ । 

समितिले चालु आवमा जिल्लाको विभिन्न १७ वटा खोलाका भागमा नदीजन्य सामग्री निकासीका लागि ठेक्का लगाएर करिब रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । समन्वय समितिका अनुसार सो राजस्व रकमबाट जिल्लाको विकास निर्माणका काममा उक्त बजेट खर्च गरिएको सो समितिले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!