फेरी ढल्यो रमपुरवांममा मापदण्ड बिपरीत बनेको नाला

Posted on: 06 Jul, 2017


मोहम्मद ईजहार शेष/असार २२, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला दोस्रो पटक पनि ढलेको छ । 

कमसल र मापदण्ड बिपरीत निर्माण गरीएको नाला सामान्य हावाहुरी र पानीले ढलेको हो । निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने रमपुरवांवाट भारतको सिमाना देखि उक्त बाटो  महेशपुरमा जाडिएको छ । 

ढल  निकासका लागि जेठ महिनावाट निर्माण सुरु गरीएको नाला एक हप्ता पछि समान्य बर्षाले जेठ १२ गते ढलेको थियो । कमसल सामाग्रि प्रयोग गरि निर्माण भएको कारण ढलेको भन्दै स्थानीयले बिरोध गरेपछि उक्त नाला फेरी निर्माण गरिएको थियो । तर दोस्रो पटकपनि निर्माण भएको नाला असार २१ गते फेरी ढलेपछि स्थानीयहरु निर्माण समिति प्रति आक्रोषित भएका छन् ।

निर्माण गर्दा सिमेन्ट र बालुवाको मिश्रण १ र ४ को अनुपातमा गर्नु पर्ने भएपनि १—८ र १—१० सम्मको अनुपातमा निर्माण गरी भ्रष्टचार गर्ने नियतले निर्माण गरीएको हुँदा नालाहरु पटकपटक ढलेको स्थानीयले आरोप लगाएका छन् । 

उक्त नाला दुई ठाँउमा गरी करीब ४० मिटरसम्म ढलेको छ । करीब ११ लाखको लागतमा २०७३ चैत्र २६ गतेवाट सुरु भएको बाटो ग्रेभेल तथा ढल निकास निर्माण कार्यक्रम २०७४ असाढ १५ सम्म भ्याउनु पर्ने भएकाले हतार हतारमा निर्माण काम भएको थियो । 


यता सडक ग्रेभेल तथा नाला निर्माण समितिका अध्यक्ष गँगा यादवले आफुलाई जानकारीनै नदिई निर्माण समितिको अध्यक्ष बनाईएको र निर्माण काममा पनि आफ्नो केही नचलेका भन्दै आफ्नो गल्ती नभएको बताएका छन् । 

निर्माण समितिका अध्यक्ष यादव साविक रमपुरवां गाविसमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका थिए । यादवले आफुलाई गाविस सविच र निवर्तमान गाविस अध्यक्षकोे डिजाईनमा अध्यक्ष बनाईएपनि निर्माण काममा आफ्नो संलग्नता नरहेको र रमपुरवाका स्थानीय नेताहरुकै अनुसार निर्माण भएको बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!