नवलपरासीमा बन्ने भयो सुविधासम्पन्न होटल

Posted on: 07 Oct, 2017

असोज २१, नवलपरासी । नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ । 

रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका– ३ ब्रह्मस्थानमा सुविधा सम्पन्न होटलको निर्माण प्रक्रिया शुरु गरिएको छ । होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटल नारायणी नदी किनार क्षेत्रमा दशकठ्ठा साढे १७ धुर जग्गामा फैलिएको छ । 

होटल व्यवसायी चौधरीका अनुसार ३० वटा वतानुकूलित सुविधा सम्पन्न कोठा, ३ सय क्षमता भएको सेमिनार हल, एक सयजना क्षमता भएको रेष्टुरेण्टसहितको होटल निर्माण हुनेछ । होटलभित्रै स्वीमिङ पुल, फिट्नेस सेण्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ । 

यस्तै नारायणगढको पुलदेखि होटलसम्म दैनिक राफ्टिङको व्यवस्था, साइकिलिङ टुर, जिप सफारी, हात्ती सफारीलगायतको व्यवस्थापन गरिने हुँदा सोहीअनुसारको संरचना निर्माण भइरहेका छन् । 

होटल परिसरभित्रै मनि एक्सचेञ्ज काउण्टर, एटिएमको व्यवस्थापन हुनेगरी होटलको संरचना तयार भइरहेका छन् । पाँच महिनाभित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ । 

नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा सञ्चालनमा आउन लागेका यो होटलमा कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

योसंगै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम शुरु हुने तयारीमा छ । राप्ती नदी किनार नजिकै होटल निर्माणका लागि चार विगाहा एक कठ्ठा जग्गा खरिद भइसकेका छन् । करिब रु ६० करोडको लगानीमा यो होटल निर्माण गर्ने योजना छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!