नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

Posted on: 04 May, 2019

वैशाख २१, चितवन (रासस) | विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् । 

सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर सुरेश पौडेलका अनुसार नक्साङ्कनका समयमा पाँच ठाउँमा भूमिगत मार्ग राख्ने व्यवस्था गरिएको भए पनि पछि अध्ययन गरेर मात्र ठाउँ र सङ्ख्या यकिन गर्ने गरी काम भइरहेको छ । सडकका वन क्षेत्रमा क्यामेरा ट्यापिङमार्फत अध्ययन भइरहेकाले तीन महीनाभित्रमा ठाउँ र सङ्ख्या यकीन हुने उहाँले बताउनुभयो । 

जनावरअनुसार भूमिगत मार्गको आकार पनि अध्ययनपछि तय गरिँदैछ । हालै मात्र पौडेलसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाललगायतको टोली भूमिगत मार्गको अध्ययनका लागि अष्ट्रेलिया गएको थियो  । सो क्षेत्रमा थोरै जनाबर भए पनि उच्च प्राथमिकताका साथ वन्यजन्तु मार्ग बनाउने गरेको ढकालले बताउनुभयो । 

नारायणगढ–वुटबल सडक खण्डलाई दुई भागमा विभाजन गरी ठेक्का लगाइएको छ । तीन वर्ष छ महीनामा काम सम्पन्न गर्ने गरी दुबै भागको ठेक्का चाइना इस्टे«ट कन्स्ट्रक्सनले पाएको छ । करीब रु १५ अर्बमा ठेक्का दिइएको हो । दाउन्नेको पहाडमा तीन लेन र अन्य क्षेत्रमा चार लेन सडक निर्माण गरिँदैछ । मानव बस्ती भएका ठाउँमा छ/छ मिटरको सेवा मार्गसमेत बनाइँदै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!