रामग्रामको विकास हुन्छ : मन्त्री अर्याल

Posted on: 03 Jul, 2019

असार १८, नवलपरासी | भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास सरकारले गर्छ, तपाईँहरु विश्वस्त हुनुस् ।”

मन्त्री अर्याल स्तुपमा पुग्दा स्थानीयवासीले यसको विकासमा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका थिए । रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले स्वदेशी तथा विदेशी गरी वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने यो स्थल उचित विकास र पूर्वाधारको कमीले पछि परेकाले सरकारले चासो दिएर विकास गर्नुपर्ने बताउनुभयो । रामग्राममा पर्यटकका लागि आवश्यक विश्रामगृह, शौचालय, सुविधासम्पन्न होटलजस्ता पूर्वाधारको अभाव छ । 

मन्त्री अर्यालले पाल्हीनन्दन–४ स्थित ऐतिहासिक पाल्ही भगवती मन्दिरको पनि दर्शन गर्दै मन्दिरको बारेमा जानकारी लिनुभयो । मन्त्री अर्याललाई उक्त मन्दिरको मुख्य पुजारी एवं सङ्घीय सांसद देवेन्द्रराज कँडेलले मन्दिरको महत्वबारे जानकारी गराउनुभएको थियो । 

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुलदेवी पाल्ही भगवतीको स्थापना भएको हो । सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्टदेवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

यसैगरी सुनवल–५ वनकट्टीमा रहेको शहीद विष्णु पाण्डे उद्यानको पनि अवलोकन गर्दै मन्त्री अर्यालले त्यहाँको विकास योजनाबारे जानकारी लिनुभयो । उक्त स्थललाई नेपालकै नमूना पर्यटकीयस्थल बनाउने गरी योजना अघि बढाइएको र त्यसका लागि सङ्घीय सरकारबाट आवश्यक बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीकी नेतृ विमला अर्यालले जानकारी दिनुभयो । मन्त्री अर्यालले परासीमा निर्माणाधीन मालपोत कार्यालयको निरीक्षण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!