नवलपरासीमा भाँचिएको पुल एक हप्तामा मर्मत गरिसक्न मन्त्रीको निर्देशन

Posted on: 17 Aug, 2019

साउन ३२, नवलपरासी | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ ।

मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले जतिसक्दो चाँडो पुल मर्मत गरी पुलबाट यातायात सञ्चालन गर्ने प्रबन्ध मिलाउन सडक डिभिजन कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले पुल मर्मत चलिरहँदा यातायात सञ्चालनका लागि निर्माण गरिएको ‘डाइभर्सन’ लाई समेत व्यवस्थित बनाउन निर्देशन दिनुभयो । निर्माण गरिएको ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ हँुदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । अहिले सवारी ‘डाइभर्सन’बाट सञ्चालन भइरहेका छन् । पानी पर्दा बाटो चिप्लो भई यातायात प्रभावित भएको थियो । जसले गर्दा यात्रुहरु घण्टौँ जाममा बस्नुपर्ने अवस्था रहेको थियो । 

आज बिहानबाट यस क्षेत्रमा यातायातको चाप कम भएको छ । अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो । भाँचिएको पुलको आजदेखि मर्मत शुरु गरिएको छ ।

राजमार्गमा धेरैजसो स्थानमा ठूला–ठूला खाल्डो परेका छन् । खाल्डोका कारण कुनै पनि बेला मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै राजमार्ग विस्तारको जिम्मा पाएको ‘चाइनिज कम्पनी’लाई मर्मतका लागि उहाँले निर्देशन दिनुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!