नवलपरासीमा तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

Posted on: 25 Mar, 2017

चैत १२, नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । 

जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा एक सय ६६ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्ने छ । सोअनुुसार निर्वाचनबाट आठ सय ९७ जनाको प्रतिनिधित्व रहने निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु कानुनी व्यवस्था छ । सोअनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १५ महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ । 

यस्तै हरेक वडाबाट दुई–दुई महिला गरी तीन सय ३२ महिलाको प्रतिनिधित्व हुने पक्का नै देखिएको छ । गाउँपालिकामा दुई दुई र नगरपालिकामा तीन तीन जना मनोनीत हुने निर्वाचन कार्यालयले जनाएको छ । मनोनीत हुनेमा अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत जस्ता व्यक्ति हुनुपर्ने छ । 

वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका एक सय ६६ वडामा कम्तीमा एउटा मतदानस्थल राखिएको छ । हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आआफ्ना वडाका अध्यक्षसहित चार सदस्य गरी सात जनालाई मतदाताले मतदान गर्न पाउने छन् । 

महिलाको समान अधिकार पँहुच बनाउने उद्देश्यले यस्तो व्यवस्था भए पनि ग्रामीण क्षेत्र खास गरी जिल्लाको दक्षिणी क्षेत्रमा महिला उम्मेदवार सक्रिय नरहेको पाइएको छ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको छ । 

कार्यालयले मतदाता नामावली केन्द्रमा पठाइसकेको तथा दुई सय ३६ मतदान स्थानमा करिब पाँच सय मतदान केन्द्र तोकेको छ । नगर, गाउँसभामा उठ्ने उम्मेदवार प्रतिनिधिका विषयमा पनि कार्यालयबाटै जानकारी दिने काम भएको छ । 

तोकिएका मतदानस्थल र केन्द्रमा सुरक्षाकर्मी र आवश्यक समाग्रीलगायतको व्यवस्थापन भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा तीन लाख ७३ हजार नौ सय २६ मतदाता छन् । तीमध्ये आठ जना तेस्रो लिङ्गी मतदाता रहेको कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!