प्रमुख अतिथिको बिषय बिबादित बनेपछि कार्यक्रम स्थगित

Posted on: 07 Jul, 2017


मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ । 

सरावल गाउँपालिकाका नवनिर्वाचित प्रमुख राधेश्याम चौधरीसँग सल्लाह नगरी निर्वाचन अधिकृतको कार्यालयले प्रमुख अतिथिको बिषय टुङ्गो नलगाई कार्यक्रम आयोजना गरेपछि कार्यक्रम बिवादित भई स्थगित भएको नवनिर्वाचित प्रमुख चौधरीले बताए । 

कार्यक्रममा प्रमुख अतिथि बन्न सांसद बिक्रम खनाल र पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव पुग्नु भएको थियो । निर्वाचन अधिकृतको कार्यालय सरावलले प्रमुख अतिथिका लागि सांसद खनाललाई बोलाएको थियो भने नवनिर्वाचित प्रमुख चौधरीले नेता यादवलाई बोलाउनु भएको थियो ।

 तर निर्वाचन अधिकृतको कार्यालय सरावलले सपथ ग्रहण कार्यक्रममा सम्बन्धित क्षेत्रको सांसदलाइ कार्यक्रममा प्रमुख अतिथि बनाउने निर्देशन रहेकाले सांसद खनाललाई निमन्त्रण गरेको थियो भने नवनिर्वाचित प्रमुख चौधरीले ब्यक्तिगत रुपमा नेता यादवलाई बोलाउनु भएको थियो । 

यता यता निर्वाचन अधिकृतको कार्यालयले सांसद खनाललाई प्रमुख अतिथि बनाएर कार्यक्रम अगाडि बढाउन खोज्दा गाँउपालिका प्रमुख चौधरीले सांसद खनालको प्रमुख आतिथ्यतामा आफु सपथ नखाने बताएका छन् ।

 उक्त गाउँपालिकाको प्रमुखमा लोकतानित्रक फोरम र उप प्रमुखमा नेपाली कांग्रेस बिजयि भएको छ भने ४ वटा वडामा फोरम , दुईवटा वडामा कांग्रेस र एउटा वडामा माओबादी केन्द्र बिजयी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!