नवलपरासीका बाढीपिडितलाई उद्योग वाणिज्य संघद्धारा राहत वितरण

Posted on: 16 Aug, 2017


साउन ३२, परासी । नवलपरासीका बाढीपिडित परिवारहरुलाई उद्योग वाणिज्य संघ नवलपरासीद्धारा राहत वितरण गरिएको छ । 

जिल्लामा दुई पटक आएको ठुलो बाढीले करिब ५ हजार घर डुबानमा परेका छन् भने दुई हजार परिवार विस्थापित हुन पुगेका छन्  । बाढीले ग्रामिण क्षेत्रका २ सय भन्दा बढि माटो र छाप्रोका घरहरुमा पुर्ण क्षति भई विस्थापित भएका छन् । 

बाढीले विस्थापित घरधुरी र परिवारहरु स्थानिय विद्यालय, आश्रम, कुटी मन्दिर र सुरक्षित ठाउँमा त्रिपाल गाडेर बास बस्दै आएका छन् । विस्थापित र प्रभावित ४ सय घरपरिवारलाई उद्योग वाणिज्य संघले चाउचाउ, विस्किट, फुरनदाना, कपडालत्ता, बाल्टी, त्रिपाल, झुल, मिनरल वाटर, पिउस लगायतका सामाग्रीहरु वितरण गरेको संघका कार्यबाहक अध्यक्ष नगेन्द्र अग्रहरीले बताउनु भयो ।   

जिल्लाको ग्रामिण क्षेत्रका प्रतापपुर गाउँपलिकाको वार्ड नं. ३ स्थित नन्दपुर, अमहवाँ, बरगदवा, वार्ड नं ८ स्थित फटकी टोल, सरवाल गाउँपालिकाको वार्ड नं. ६ का रामपुर खडौना, मधवलिया, पुसौली, वार्ड नं ७ का भुजहवाँ, पाल्हीनन्दनका शंकरपुर, सुस्ताको फेनहरा, सेखुवानी, सकरडिनही मुसहर टोल लगायतका गाउँटोलहरु बाढीले डुबामा परि बढि प्रभावित भएको जिल्ला प्रशासनले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!