नवालपरासीमा ट्रकसँग बस ठोक्किँदा १६ घाइते, चक्कु प्रहारबाट महिला घाइते

Posted on: 25 Sep, 2018

असोज ९, कावासोती (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो । सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन् । अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सुनवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कँुवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चक्कु प्रहारबाट महिला घाइते 

नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले गए राति चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ । घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!