नवलपरासी पूर्वमा चार जना पक्राउ

Posted on: 05 Dec, 2018

मङ्सिर १९, कावासोती | जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट नुफिन ५५ एम्पुल, फेनारगन ५५ एम्पुल, डाइजेपाम सेरिजेक ५५ एम्पुल, फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट र नाइट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

यसैगरी लु१ख ६३९० नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा कावासोती–८ बाट प्रहरीले म्याग्दी साबिक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ । उनको साथबाट फेनारगन ४३ एम्पुल, नुफिन ४३ एम्पुल, डाइजेपाम सेरिजेक ४३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई लागुऔषध ओसारपसारविरुद्धको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।-रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!