नवलपरासीमा उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

Posted on: 14 Jan, 2019

पुस ३०, परासी | अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । 

गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उहाँकी श्रीमती ज्ञान बेलदारले जानकारी दिनुभयो । 

बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महीनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गर्नुभयो । ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते हुनुभएको थियो । 

अहिलेसम्मको केही पैसा ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिनुभयो । 

ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!