सुनवलमा १०० शैयाको क्वारेन्टाइन तयार

Posted on: 25 Mar, 2020

चैत १२, नवलपरासी | पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११ जर्गाहामा १०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका शङ्का लागेकालाई सुरक्षित साथ राख्न सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको संयुक्त पहलमा क्वारेन्टाइन निर्माण गरिएको हो । 

महाविद्यालयको परिसर अगाडि रहेको खाली चौरमा ५० वटा टेन्ट राखेर १०० श्ययाको आधारभूत सुविधासहितको क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख भीमबहादुर थापाले राससलाई जानकारी दिनुभयो । क्वारेन्टाइनमा प्रत्येक टेन्टभित्र दुई/दुई वटा श्ययाको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “कोरोनाको यो महामारीविरुद्ध लड्न हामीले १०० जनालाई एकैसाथ राख्न सक्ने गरी यो क्वारेन्टाइन निर्माण गरेका हौँ, न्यूनतम मापदण्डहरु पूरा गरेका छौँ, टेन्ट महाविद्यालयले सहयोग गरेको छ भने यहाँ आवश्यक अन्य सामग्री नगरपालिकाबाट व्यवस्था मिलाइएको छ ।”

क्वारेन्टाइनमा महाविद्यालयका चिकित्सक र सुनवल नगरपालिकाका स्वास्थ्यकर्मी उपचारमा खटिने छन् भने औषधि र आवश्यक उपकरणको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा राखिएका केही श्यया विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको छ भने यहाँ आवश्यक पर्ने खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तु सहयोग गर्न उद्योग वाणिज्य सङ्घलाई आग्रह गरिएको नगर प्रमुख थापाले बताउनुभयो । 

महाविद्यालयका प्रहरी र नगरपालिकाका कर्मचारीको संयुक्त पहलमा एक दिनमै क्वारेन्टाइन निर्माण भएको महाविद्यालयका प्राचार्य वसन्त कुँवरले बताउनुभयो । क्वारेन्टाइनस्थलमा बिजुली, खानेपानीको प्रबन्ध गरिएको छ भने १२ वटा शौचालय निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई सङ्क्रमित भएको आशङ्का लागेमा खबर प्राप्त भएको १५ मिनेटमा उद्धार गरी क्वारेन्टाइनस्थलसम्म ल्याउने र त्यसका लागि तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि आफूहरुले टुथपेस्ट, ब्रस, बिस्कुटलगायतका दैनिक उपभोग्य वस्तु सहयोग गर्ने सुनवल उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिनुभयो । 

विपद्को यो समयमा पनि कसैले कालोबजारी गरेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा ठाउँको ठाउँ कारवाही गर्ने नगर प्रमुख थापाले बताउनुभएको छ । कोरोनाको सम्भावित जोखिमलाई मनन गर्दै नगरपालिकाले एक महिनादेखि नगरभित्र सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको छ भने हाटबजार पनि बन्द गराएको छ । सरसफाइ र सचेतनाका कार्यक्रमलाई जोड दिँदै आएको नगरपालिकाले जनाएको छ । 

यसैगरी पश्चिम नवलपरासीका अन्य स्थानीय तहले पनि क्वारेन्टाइन निर्माणलाई तीव्रता दिएका छन् । रामग्राम नगरपालिकाले परासीस्थित आदर्श माविमा ५० श्ययाको क्वारेन्टाइन निर्माण गर्र्दैछ भने पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका तथा बर्दघाट नगरपालिकाले पनि क्वारेन्टाइन निर्माणको कार्यलाई अगाडि बढाइसकेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाले शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पाँच श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!