पश्चिम नवलपरासीमा २०७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on: 04 May, 2020

वैशाख २२, नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएका २०७ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश ५ मा एकाएक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश ५ अन्तरगतको पश्चिम नवलपरासीमा स्वाब संकलन र परीक्षणलाई तीव्रता दिइएको छ ।

पश्चिम नवलपरासीबाट पीसीआर परीक्षणका लागि टेकुको राष्ट्रिय प्रयोगशालामा नमूना पठाइएका सबै २०७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आइतबार थप ५५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै २०७ जना सबैको रिपोर्ट आएको हो । सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

आइतबार सरावल बर्दघाटबाट पठाइएका नमूनाको रिपोर्ट आएको हो । प्रदेश सरकारले कारोना परीक्षणका लागि स्वाब संकलन गरी पठाउन आवश्यक किट उपलब्ध गराएसँगै जिल्लामा पहिलो चरणमा संस्थागत क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संलकन गरी परीक्षण गर्न काठमाडौं पठाइएको हो ।

प्रदेश सरकारले २९७ वटा किट उपलब्ध गराएकोमा २०७ किट प्रयोग भइसकेको छ भने बाँकी ९१ किटबाट पनि स्वाब संलकन गरी पठाइने जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हालसम्म बर्दघाटका ३४, सुनवलका ३७, रामग्राम, प्रतापपुर, सुस्ता र सरावलका २५/२५ जना र पाल्हिनन्दनका ३६ जनाको पीसीआर परीक्षण गरिएको हो । जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ११८ जना छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!