काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on: 10 Aug, 2020

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ । सरकारले दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै सुरक्षा मापदण्डमा कडाई गर्ने नीति लिएको छ । 

सक्रिय संक्रमितको स्थितिलाई हेर्दा काठमाडौँ नेपालमै दोश्रो जोखिमयुक्त जिल्लाको सूचीमा परेको छ । पर्सापछि काठमाण्डौ सङ्क्रमित धेरै भएको जिल्ला बनेको छ । पर्सामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ३ छ भने काठमाडौँमा  ७ सय ९० सक्रिय संक्रमित छन् । काठमाडौँका अधिकांश संक्रमित पछिल्लो दुईसाता यताका हुन् ।

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेका जिल्ला अन्तर्गत काठमाण्डौ, रौतहट, महोत्तरी र पर्सारहेका छन् । 

पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुलाई मन्त्रालयले उच्च जोखिम भएका जिल्ला भनेको छ । यस्तै दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला पनि बढी जोखिम मानिएको छ । सर्लाही, धनुषा र मोरङमा सक्रिय सङ्क्रमितको संख्या दुई सयभन्दा धेरै छ । यसरी ७ जिल्लालाई सरकारले रेड जोनमा राखेको छ । 

यस्तै खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने हाल कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!