छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

Posted on: 04 Mar, 2021

फागुन २०, नवलपरासी । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । 

पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ ।  प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

 पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उहाँले जानकारी दिनुभयो ।

गैँडाको आक्रमणबाट मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एकको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । 

बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उहाँँले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!