ढुक्क हुनुहोस् नेपालमा रहेका भारू साटिन्छन्

Posted on: 14 Jan, 2017

माघ १, काठमाडौँ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् ।  यो

नयाँ दिल्लीस्थित फरेन करेसपोन्डेन्ट क्लबले नेपाल र भारतको सम्बन्धको विषयमा आयोजना गरेको एक कार्यक्रममा उपाध्ययाले नेपालमा रहेका पुराना भारु नोट साटिने विषयमा भारतले आफूहरुलाई विश्वस्त गराएको बताए । यही विषयमा वार्ता गर्न भारत आएको सरकारी टोली बिहीबार भारतीय पक्षसँग वार्ता गरी नोट साट्ने विषयमा आफूले तयार बनाएको मोडालिटीको बारेमा जानकारी गराएको छ ।

‘नोट साट्ने विषयमा दुई देशका बीचमा विभिन्न तहमा वार्ता भइरहेको छ । विशेषत: डिसेम्बर ३० पछि पुराना नोटहरु नसाटिने हो कि भन्ने चिन्ताका साथ मलाई फोन आइरहेको छ । म  पूर्णरुपमा विश्वस्त छु कि यो समस्या समाधान हुने छ,’ उपाध्यायले भने । भारतमा पुराना नोटहरु साट्ने समयसीमा डिसेम्वर ३० मा सकिएको छ । उनले भारतमा काम गर्ने नेपालीहरुले घर फर्कंदा ठूलो मात्रामा भारतीय रुपैयाँहरु आफूसँगै लाने गरेको बताए ।

फरक प्रसंगमा राजदूत उपाध्यायले नेपाल र भारत बीचमा विशेष सम्बन्ध रहेको र त्यो अरु कसैसँग तुलना गर्न आवश्यक रहेको समेत बताए । उनले नेपाल र भारतको बीचमा रहेका सन्धि तथा सम्झौताहरुको पुनरावलोकन गर्न आवश्यक रहेको र त्यसका लागि दुवै देशका प्रतिनिधि सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको बताए । उपाध्यायले नेपाल र भारत सम्बन्धमा विविध आयामहरुको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!