शनिबार यस वर्षकै सबैभन्दा धेरै चिसो

Posted on: 15 Jan, 2017

माघ २, काठमाडौं | जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको छ ।

पश्चिमी वायुको प्रभावले देशभर अझै चिसो बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले बताए । ‘पानी पर्ने सम्भावना बढेकाले अझै चिसो हुन सक्छ,’ सुवेदीले भने, ‘कति डिग्रीसम्म तापक्रम झर्छ भन्ने अनुमान गरिएको छैन । तर, चिसो बढ्न सक्छ ।’ 

सुवेदीका अनुसार पश्चिमी वायु बिस्तारै पश्चिम नेपाल हुँदै पूर्वतिर गएकाले मध्य र पूर्वी नेपालका पहाडी जिल्लामा छिटफुट वर्षा हुन सक्नेछ । पश्चिम नेपालका केही ठाउँमा पनि वर्षा हुनसक्ने अनुमान छ ।

काठमाडौंमा शनिबार अधिकतम १६ दशमलव ४ डिग्री र न्यूनतम शून्य दशमलव ४ डिग्रीसम्म तापक्रम पुगेको छ । गत वर्ष पनि काठमाडौंको तापक्रम शून्यमा झरेको थियो । हिमाली क्षेत्र जुम्लामा अधिकतम १९ दशमलव ४ न्यूनतम र न्यूनतम माइनस ८ डिग्रीसम्म पुगेको थियो । नेपालगन्जममा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमवलव ४ डिग्री थियो । विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले तराईमा शीतलहरबाट कसैको मृत्यु भएको सूचना नआएको बताए । ‘तराईमा चिसोबाट मृत्यु भएको हुन सक्छ । तर, शीतलहरबाट एकजनाको मृत्यु भएको छैन,’ पन्थीले भने । - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!