विमानस्थलमै देखियो उपप्रधामन्त्रीको मर्यादाक्रम विवाद

Posted on: 30 Mar, 2017


चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ । 

त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो । सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्री त्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । निधीले थापासँगै नहरने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी ।

‘महराजी तपाई बरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने । थापा भने शान्त हुँदै सभामुखको छेउमा अडिग रहे । महरापछि उभिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहार बलदेव खनालले पनि महरालाई थापाको छेउमा पठाए । निधिले पनि हातमा समाउदै बस्न लगाए । यसपछि सभामुखपछि क्रमश: थापा, महरा र निधि लहरै भए ।

सबैभन्दा ठूलो दलको नेतृत्व गरेर सरकारमा गएका र कार्यबाहक समेत भइसकेको नाताले निधीलाई कार्यबाहक दिनुपर्ने कांग्रेस सभापति शेरबाहादुर देउवाको समेत अडानबाट समेत पछि हटै दाहाल चीन गएका हुन । थापाको घुर्की र सरकार ढल्न सक्ने आशंकाले उनले विवाद सहतमा छोडेका हुन् । विवाद लुकाउन दाहालले त्यसो गरे पनि बुधबार विमानस्थलमा संचारकर्मीमाझ नै यो ‘सतहमा’ आयो ।

प्रेस कक्षमा भएको पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्रीसँग नीधि बसेनन् । दाहालको दायातर्फ थापा बसे । प्रधानमन्त्रीको दाहिने कार्यबाहक प्रधानमन्त्री रहने चलन यसअघि थियो ।

घटनाक्रम नियालिरहेका एक अधिकारीले भने, ‘सुरुमा मर्यादाक्रमको विवाद प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममै देखियो । प्रेसकक्षमा त असन्तुष्टि नै देखियो।’

‘मुलुकमा तीन उपप्रधानमन्त्री रहेकाले मर्यादाको समस्या आएको हो, जसले गर्दा कार्यवाहकको जिम्मेवारी नदिई प्रधानमन्त्री चीन गए । ‘समस्या समाधान होइन, समस्याबाट भाग्ने प्रथाले मुलुक एक सातासम्म प्रधानमन्त्री विहीन रह्यो’, परराष्ट्र अधिकारीले भने, ‘अन्य मुलुकमा प्रधानमन्त्रीपछिको बरिष्ठता तोकिएको हुदा कार्यबाहक तोक्न आवश्यक हुदैन । हामीमा त्यो नतोकिदा कार्यबाहक दिएर राष्ट्रपतिले अनुमोदन गर्ने चलन हो ।’

मुलुकको नेतृत्व गर्ने नेताहरुले जे गर्दा नि हुन्छ भन्ने प्रथाले यस्तो अवस्था देखापरेको ति अधिकारीले टिप्पणी गरे । चौथो दलका अध्यक्ष थापाले बरिष्ठता दावी गर्दै त्यसमा सम्मान नभए सरकार छोड्ने ‘घुर्कि’ देखाएपछि कार्यबाहक दिने विषय विवादित बनेको थियो । दाहाल नेतृत्वको सरकारमा निधिले पहिले नै उपप्रधानमन्त्री पदमात्र होइन कार्यबाहक सम्हाली सकेका थिए । तर थापा केहि दिन अगाडि मात्रै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका हुन् । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!