हिमाया सेक्युरिटीमा जाँदा यसरी गरिएछ सेटिङ्ग, एसआरएस म्यानपावरका सञ्चालक फरार

Posted on: 30 Mar, 2017

चैत १७, काठमाडौँ | धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ वर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६/१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरट्स (यूएई) मा कार्यरत बलराम थापा चितवन आएको बेला उनको सम्पर्क भयो । ‘यूएईको अर्धसरकारी हिमाया सेक्युरिटी सर्भिसेस कम्पनीमा मासिक चार हजार दिराम (एक लाख २० हजार रुपयाँ ) तलब दिन्छ,’ थापाले गुरुङलाई भने, ‘त्यहाँ छनोट भए आठ लाख रुपयाँ लाग्छ ।’ 

कहाँको १७ हजार, कहाँको एक लाख २० हजार । गुरुङ लोभिए । सशस्त्रमै कार्यर त साथीभाइसँग सल्लाह गरे। बलरामसँग १२ जना सम्पर्कमा पुगे । उनले जम्मा गरेकालाई अन्तर्वार्ता लिन भरतपोखरी, कास्कीका ओमबहादुर थापा चितवन पुगे । उनले बलरामकै दाजुको घरमा अन्तर्वार्ता लिए । अन्तर्वार्तामा छनोट भएपछि उनीहरूले ओमबहादुर र रेखा भण्डारी थापाको माछापुछ्रे बैंकको संयुक्त खातामा एक/एक लाखको दरले जम्मा गर्न लगाए । ‘भिसा आएपछि बैंकमा जम्मा गर्न दिएनन् । बलरामका दाइ मीनबहादुर र डम्बरबहादुरको हातमा बुझायौं,’ तेजबहादुरले भने । श्रम स्वीकृतिका लागि उनीहरू सबैका राहदानी ओमले लिएर गएका थिए । यूएई जाने भन्दै असार २६ गते काठमाडौं बोलाए ।

‘भोलि बिहान श्रम स्वीकृति आउँछ, दिउँसो १:४० को उडान छ, तपाईंहरू १० बजे एयरपोर्टमा आउनुस्, हामी राहदानी र टिकट लिएर त्यहीं आउनेछौं,’ ओमले भने, ‘सबै जना समयमै पुग्नु ।’ सबैजना भनेको समयमा विमानस्थल पुगे । त्यहाँ ओम थिएनन् । सबै उनलाई पर्खिएर बसे । 

‘प्राविधिक कारणले श्रम स्वीकृति लिन सकिएन,’ एकछिनमा ओम आइपुगे र भने, ‘तर , चिन्ता गर्नु परेन । मैले भित्र सबै मिलाइसकेको छु । तपाईंहरू एयर अरबियाको १२ र १३ नम्बर काउन्टरमा मात्रै जानु ।’ श्रम स्वीकृति नमिलेको कुराले यूएई जान ठिक्क परका कामदारहरू अलमलमा परे । ‘हामी श्रम स्वीकृति लिएर मात्रै जान्छौं,’ बमराज गुरुङले भने, ‘यसरी गएर कहाँ हुन्छ ?’ तर, ओमले लामो बहस गरनन्  । ‘ अरू विकल्प छैन । समय छैन । जाने भए जानुस्, नजाने भए अब पैसा फिर्ता हुँदैन,’ ओमको भनाइ उद्धत गर्दै बमराजले भने , ‘हामीलाई ट्र्यापमा पारियो।’ उनीहरू सेटिङमा जान तयार भए । ओमले सबैलाई दुइटा भिसा दिए । एउटा सक्कली थियो । यो भिसा यूएईको अध्यागमनमा पेस गर्नु भनेर उनले सिकाए । नक्कली भिजिट भिसा, होटल बुकिङको कागजात, डलर र दिरामको छाप हानेको राहदानी सहितको फाइल त्रिभुवन विमानस्थलमा देखाउनु भनेर दिए । 

विमानस्थलमा हुने पहिलो पुलिस चेकिङमा उनीहरूलाई कसैले कुनै सोधपुछ गरेन । १२ जना लस्कर भित्र छिरे । एयर अरबियाको काउन्टरमा पुगे । एउटै लाइनमा बसे । काउन्टरमा पुग्नासाथ उनीहरूलाई खास प्रश्न नगरी फटाफट बोडिङ पास दिइयो । ‘सबैभन्दा अच्चम त हामीलाई अध्यामगनले एक वचन पनि सोधेन,’ थप्रेक ४, तनहुका बुद्धिबहादुर वाग्लेले भने, ‘हामी यात्रु प्रतीक्षामा नपुगेसम्म ओमले छिनछिनको अपडेट लिइरहेका हुन्थे ।’ 

तनावमा ९ महिना 

ओमले यसरी सेटिङ गरेर चारपटक गरी ३३ जनालाई यूएई पुर्याए । हिमाया सेक्युरिटीमै एसआरएस म्यानपावरबाट श्रमस्वीकृति लिएर गएका थप ५२ जना थिए । हिमायाले यूएई पुगेपछि मात्रै अन्तर्वार्ता लियो । उनीहरू सबै पास र मेडिकल फिट पनि भए । तालिम पनि भयो । ‘कम्पनीसँग सम्झौता भने गरनन्,’ बुद्धिबहादुरले भने, ‘भोली भोलि भन्दाभन्दै महिना बित्दै गए ।’ ठूलो पैसा फसेकाले उनीहरू तुरुन्तै दूतावास पनि गएनन् । ओम र एसआरएस म्यानपावरले भने अनुसार चुपचाप बस्दै गए । यस्तैमा एक दिन थाहा पाए, हिमायाले काम नै नदिई नेपाल फर्काउन लागेको छ । त्यसपछि भने उनीहरू दूतावास पुगे । ‘ऋण खोजे रआएका थियौं । कसैसँग पैसा थिएन । घरबाट फोन आउंथ्यो । घरतिर पनि वास्तविकता लुकायौं,’ तेजबहादुरले भने , ‘ओमले अझै मिलाइदिन्छन् कि भनेर चुप त बस्यौं तर हामीले ठूलो मानसिक यातनाबाट गुज्रिनु पर्यो ।’ ओमलाई दूतावासले छलफलका लागि बोलाउदा पनि गएनन् । ‘तिमीहरूले केही गर्न सक्तैनौं भन्दै लुक्दै बसे,’ उनले भने, ‘प्रधानमन्त्री दुबई आएको बेला भेटेर ज्ञापनपत्र बुझायौ । त्यसबाट केही नभएपछि ओम र बलरामको झन् सान बढ्यो ।’ दूतावासले कम्पनीसँग निरन्तर कामदारको पक्षमा ‘लबिइङ’ गरेपछि घर फर्किने हवाई टिकट र केही महिनाको न्यूनतम तलब दिएर स्वदेश पठायो । ‘हामीले दुई वर्षकै क्षतिपूर्ति पाउनुपर्ने थियो । घर फर्किन पायौं, त्यसमै खुसी हुनुपर्यो,’ उनीहरूले भने । 

ओम र एसआरएस सञ्चालक फरार 

कामदारहरू नेपाल फर्किए लगत्तै यूएईस्थित नेपाली दूतावासले एजेन्ट ओमबहादुर थापालाई मानव तस्करी र एसआरएस सञ्चालकलाई आर्थिक शोषण मुद्दामा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठायो । एजेन्ट थापाद्वयलाई कारबाही माग गर्दै मंगलबार पीडितहरू विभागमा उजुरी दर्ता गर्न पुगे । विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरका कामकारबाहीमा रोक लगाउनुका साथै सञ्चालक सुभद्रा बराललाई पक्राउ पुर्जी जारी भइसकेको बताए । ‘ म्यानपावरका सबै काम कारबाही रोक्का गरिएको छ । बरालको नाममा भएको सम्पत्ति पनि रोक्का गरिएको छ,’ उनले भने । 

पीडित कामदारका अनुसार विभागले पक्राउ पुर्जी जारी गरपछि एसआरएस म्यानपावरका सञ्चालक कार्यालय बन्द गरी फरार भएका छन् । ‘हामीलाई आठ लाख रुपयाँ दिएको भने र म्यानेजरर एकाउन्टेन्टले प्रहरी समक्ष कबुल नै गरको थियो,’ पीडित दिपेन्द्र रानाभाटले भने, ‘अहिले त म्यानपावर नै बन्द गरेर भागेछन्।’ महानिर्देशक पाण्डेले ओमबहादुर र बलरामविरुद्ध विभागले मानवतस्करी मुद्दा चलाउने बताए । ओमबहादुर दुबईबाट भारततिर छिरको पीडितहरूले बताए । - कान्तिपुरबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!