एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी

Posted on: 23 Apr, 2017

वैशाख १०, काठमाडौं | चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा पक्राउ परेका हुन् । 

आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् । कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो । उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । परीक्षाहल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेकी २७ वर्षीय भोहरा भारतीय नागरिक हुन् । दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ । एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्ने गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै चिकित्सकलाई नियन्त्रणमा लिएको हो । चिकित्सा अध्ययन संस्थानले उनीहरूको परीक्षा रद्द गरी अनुसन्धानका लागि प्रहरीमा बुझाएको हो । चिट चोरेकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले तारेखमा उनीहरू छुटेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए । महानगरीय अपराध महाशाखाले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल र ७० वर्षीया कान्छी खड्का छन् । - नयाँ पत्रिकाबाट 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!