राप्रपाको संकल्पपत्र: दश वर्षमा सबै नगर स्मार्ट सिटी

Posted on: 27 Apr, 2017

बैशाख १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको छ । 

आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ । राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेको संकल्पपत्रमा राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य छ । गाउँपालिका-नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रूपमा स्थापित गरेर सञ्चालन गर्ने पनि राप्रपाको प्रतिबद्धता छ ।

गौहत्या निषेध : राप्रपाले गौहत्यालाई पूर्णतः निषेध गर्ने नीति लिएको छ । संकल्पपत्रमा भनिएको छ, ‘गौहत्यालाई निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्नलाई कारबाही गरिनेछ । गौरक्षाका लागि प्रत्येक गाउँ–नगरपालिकामा गौशाला निर्माण गरिनेछ ।’ विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने राप्रपाले जनाएको छ । पार्टीले निर्वाचन जितेका स्थानीय तहका कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्ने राप्रपाको संकल्प छ ।

बजेटको २० प्रतिशत शिक्षामा : स्थानीय तहमा विनियोजित बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउने संकल्प राप्रपाको छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजनिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा एकरूपता कायम गर्ने र रोजगारमूलक व्यावसायिक शिक्षालाई जोड दिने योजना राप्रपाले बनाएको छ । स्थानीय समुदायको सहमतिमा कम्तीमा शिशुशिक्षादेखि कक्षा ३ सम्म मातृभाषामा अध्ययन–अध्यापन गराउने व्यवस्था मिलाउने राप्रपाले जनाएको छ ।

प्रत्येक गाउँ–नगरमा २५ शय्याको अस्पताल : राप्रपाको संकल्पपत्रमा प्रत्येक गाउँ–नगरपालिकामा कम्तीमा २५ शøयाको अस्पताल निर्माण गरी प्राथमिक स्वास्थ निःशुल्क गर्ने घोषणा छ । विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गर्ने योजना पनि छ ।

राजतन्त्रसहितको लोकतन्त्र आवश्यक : थापा

संकल्पपत्र सार्वजनिक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र अबको आवश्यकता भएको बताए । थापाले भने, ‘राप्रपा संविधानको परिधिभित्र संसद्को नियन्त्रणमा रहने राजसंस्थासहितको लोकतन्त्रको पक्षमा छ ।’ राजा महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति राप्रपाको प्रेरणाको स्रोत भएको पनि थापाले बताए । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!