नेपालबाट फर्किएपछि भारतीय पत्रकारले लेखे– ‘नेपालमा अब भारतीयप्रति त्यो सद्भाव रहेन’

Posted on: 22 May, 2017

नयाँ दिल्ली, जेठ ८ । मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो लेखमा भारत र भारतीयप्रति नेपालमा अब पहिलाजस्तो सम्मान, सद्भाव र स्नेह नरहेको अनुभव उजागर गरेका हुन् ।

भारतीय अखबार दैनिक ट्रिब्यूनमा सोमबार भारतका वरिष्ठ पत्रकार हरिश खरेको एक लेख प्रकाशित भएको छ । लेखमा उनले नेपाल र नेपालीमा पहिलेको तुलनामा अब भारत र भारतीयप्रतिको व्यवहारमा त्यो मित्रता नरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘गत साता हाइकिङ्ग र ट्रेकिङ्ग तथा ताजा हावामा श्वास लिने उद्देश्यले म नेपाल गएको थिएँ । पछिल्लो पटक सन् २०१३ मा मैले नेपालको यात्रा गरेको थिएँ । त्यतिबेला र अहिले नेपालको मुडमा धेरै परिवर्तन आएको छ ।’

भारतप्रति पहिलाजस्तो मित्रता नभएको प्रष्ट महसुस गरेको उल्लेख गर्दै उनले लेखमा लेखेका छन्, ‘दुई वर्ष अघि अनधिकृत रुपमा गरिएको नेपालमाथिको आर्थिक नाकाबन्दीको नराम्रो र तीतो याद मेटिएको छैन, सम्बन्धमा तिक्तता काठमाडौंभन्दा टाढा पनि फैलिएको छ ।’


भ्रमणमा आफूले गरेको अनुभव पोख्दै उनले अगाडि लेखेका छन्, ‘मित्रतामा तिक्तताको कुरा नेपालका मानिसहरु आफ्नो मुखले भन्दैनन् तर भारतीयप्रति अब उनीहरुले पहिलाजस्तो न्यानो र सुखद् स्वागत गरेको देखिदैंन ।’

उनले नेपाल भ्रमणमा आफूले देखे–भोगेका कुरालाई यसरी लेखमा उतारेका छन्– ‘काठमाडौंबाट उत्तरपूर्वी गन्तव्य नगरकोट जाने हाम्रो ट्याक्सी चालकले त नेपालको राजनीतिप्रति कुनै कुरा गर्न नै मानेन । ऊसँग मधेसीहरुको बारेमा कुरा गर्न खोज्दा उसले ट्याक्सीको रेडियोको आवाज ठूलो बनाएर कुरा सुनेको नसुन्यै गरिदियो । अर्थात् कुराकानीको अन्त्य । मैले कुरा बुझेँ ।’

अघिल्लो भ्रमणको तुलना गर्दै उनले लेखमा भनेका छन्, ‘अघिल्लो पटकको तुलनामा यसपटक आम नेपाली पनि हिन्दीमा कुरा गर्न इच्छुक देखिएनन् । दूर–दराजका क्षेत्रमा स्वास्थ्यसम्बन्धी एनजिओ चलाउने एक युवाले त विनम्रतापूर्वक यहाँसम्म भने कि उनी अंग्रेजीमा बोल्न चाहन्छन्, हिन्दीमा बोल्न उनलाई दिक्क लाग्छ । मोटरसाइकल–ट्याक्सी चालकसम्मले आफू अंग्रेजी सुधार्न थालेको भन्दै हिन्दी भाषा प्रयोग नगर्न भने ।’

उनले भारतीय रुपैयाँको अस्वीकार्यता पनि सबैभन्दा अचम्मलाग्दो अनुभव भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पहिले भारतीय मुद्राको शान थियो, नेपालको दुर्गम क्षेत्रमा पनि यो अधिक स्वीकार्य मुद्रा थियो । यसबाट ती क्षेत्रमा पुग्ने भारतीयको सहज स्वीकार्यता र अपनत्वको भावना महसुस हुन्थ्यो । तर नोटबन्दीका कारण भारतीय मुद्रा बेकार भएको छ ।’

होटलमा समेत विभिन्न मुलुकका मुद्राको सटही दर सबैले देख्नेगरी राखिएको तर भारतीय मुद्राको लेनदेन अथवा स्वीकार्यता हुन छाडेको उनले उल्लेख गरेका छन् ।

लेखक खरे सन् २००९ देखि २०१३ सम्म भारतका तल्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहका प्रेस सल्लाहकार थिए । (एजेन्सी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!