यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम

Posted on: 23 May, 2017

जेठ ९, काठमाडौं | गत साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे । भारतसँग विगतमा बिग्रिएको सम्बन्ध प्रचण्डको कार्यकालमा सुमधुर भयो । सरकारले भारतसँग नेपालका समस्या र एजेन्डा प्रष्टसँग भनेको छ ।

प्रचण्ड सरकारकै पालामा 'वान बेल्ट वान रोड' परियोजनामा हस्ताक्षर भयो । चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनायो । संविधान संशोधन हुन सकेन । तर, मधेसकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले दुई पटक व्यवस्थापिका संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्यो ।

प्रचण्ड सरकारकै पालामा स्थानीय निकायको पुनर्संरचना भएर त्यहीअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । २० वर्षसम्म हुन नसकेको स्थानीय निर्वाचनको पहिलो चरण प्रचण्ड नेतृत्वको सरकारले सम्पन्न गरेको छ ।

बहुचर्चित काठमाडौं –निजगढ द्रूतमार्ग (फास्ट ट्याक) निर्माण नेपाली सेनालाई जिम्मा दिने निर्णय प्रचण्डको अर्को महत्त्वपूर्ण काम हो ।

प्रचण्ड सरकारको पालामा उज्यालो नेपाल अभियानअन्तर्गत मुलुक लोडसेडिङमुक्त भयो । यसबीचमा भारतबाट बिजुली उल्लेख्य आयात भयो । विगतमा रोकिएको हुलाकी मार्ग निर्माणले यसबीचमा गति लिएको छ ।

प्रचण्ड सरकारको पालामा २४ वर्षयताकै उच्च आर्थिक वृद्धिदर भएको छ । -  नयाँ पत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!