नेपाली अपहरण गर्न डोटी पुगेको भारतीय प्रहरी नियन्त्रणमा

Posted on: 02 Jun, 2017

जेठ १९, काठमाडौं । डीएसपीको नेतृत्वमा अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो ।

भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो ।

स्थानीयका अनुसार राति करिब दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य भारतीय प्रहरीको समूहले घरमै सुतेका बेला लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरेका थिए ।

भारतमा काम गर्ने आउजीमाथि भारतबाट करिब १५ लाख भारतीय रुपैयाँ चोरेर ल्याएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, अपहरण शैलीमा आएका व्यक्तिहरु भारतीय प्रहरीका डिएसपीसहितका सुरक्षाकर्मी हुन् । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले घटनाबारे छानबिन भइरहेको बताए । -अन्नपूर्ण पोस्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!