यी हुन् प्युठानबाट मेयर पदमा टिकट पाउने एक्लो महिला उम्मेदवार

Posted on: 15 Jun, 2017


असार १, प्युठान । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्युठानबाट प्रमुख पदमा एकजना मात्र महिलाले टिकट पाउनुभएको छ । 

नयाँ शक्ति पार्टी नेपालले प्युठान नगरपालिकाको मेयर पदमा बिजुवार टारी निवासी भगवती सुवेदीलाई टिकट दिएको हो । जिल्लाका कुनै पनि अन्य दलले नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा महिलालाई टिकट दिएका छैनन् । ४३ वर्षीया सुवेदी जिल्लामै प्रमुख पदमा चुनाव लड्ने एक मात्र महिला हुनुहुन्छ ।

पार्टीको केन्द्रीय परिषद् सदस्यसमेत रहनुभएकी सुवेदी २०४४ सालदेखि राजनीतिक यात्रामा लाग्नुभएको हो । तत्कालीन समयमा नेकपा मसालबाट राजनीतिक यात्रा थालेको उहाँले जानकारी दिनुभयो । पार्टीमा क्रियाशील भएकै कारण आफू २०४६ सालको जनआन्दोलनमा दस दिनसम्म हिरासतमा बस्नुपरेको स्मरण गर्नुभयो ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन बिजुवार–७ टारीको वडा सदस्यमा निर्वाचित सुवेदीले यसपालिको स्थानीय तहमा समेत आफूले विजय हासिल गर्ने अठोट गर्नुभएको छ । ‘मेरो उम्मेदवारी प्युठानी महिलाको हो’, उहाँले भन्नुभयो, ‘महिलाको सशक्तीकरण नै मेरो प्रमुख मुद्दा हो ।’ जिल्लाका सबै महिलाको अभिभावकको रूपमा आफूले उम्मेदवारी दिएको उहाँले सुनाउनुभयो ।

महिला हिंसा, सामाजिक विभेद र महिलालाई आर्थिक रूपमा सक्षम एवं प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनुभयो । संविधानमै उल्लेख गरिएको समान अधिकार व्यवहारिक रूपमा कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै उहाँले यसको पूर्ण कार्यान्वयनका लागि जोड दिइने प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकामा ‘स्मार्ट सिटी’, चेरनेटा–दम्ती हरियालीसहितको फोर लेन सडक निर्माण, नगरपालिकाको केन्द्रमै भएको खानेपानी समस्याको समाधानलगायत विकासका प्रद्धिबद्धता उहाँले जनाउनुभएको छ । एमएड र एलएलबीसम्मको अध्ययन गर्नुभएकी सुवेदीले आफूलाई विजयी गराए सम्मुनत नगर बनाउने सपना बोक्नुभएको छ । जिल्लामा क्रियाशील प्रमुख दलहरूले पनि प्रमुख पदमा महिलालाई उठाउने चर्चा चले पनि उमप्रमुखमै सीमित गराएका छन् । अन्नपुर्ण पोष्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!