देउवाको गृह जिल्लामै कांग्रेसका बागी उम्मेद्वार

Posted on: 19 Jun, 2017


असार ५, काठमाडौँ । टिकट वितरणमा चरम असन्तुष्टि रहेको नेपाली कांग्रेस डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठेका छन् ।

पार्टी निर्णयका विरुद्ध आफ्नो उम्मेदवारी जनाउँदै कांग्रेस कार्यकर्ताले एउटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र विभिन्न वडामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । डडेल्धुरा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । 

अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा पार्टीका महाधिवेशन प्रतिनिधि रहेका लोकराज भट्टले बागी उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति हुन् । सोही गाउँपालिकामा किशोर बिष्टले उपाध्यक्षमा मनोनयन दर्ता गरे। नेपाली कांग्रेसले अध्यक्षमा कमलसिंह भाट र उपाध्यक्षमा कमला बिष्टलाई टिकट दिएको थियो ।

यसैगरी नवदुर्गा गाउँपालिकाको–४ बाट टेकबहादुर साउदले बागीमा मनोनयन दर्ता गराएका छन् । 

अमरगढी नगरपालिकाको वडा नम्बर २ अध्यक्षमा पुष्पराज जोशी, वडा नम्बर–३ आध्यक्षमा वीरबहादुर ऐर, वडा नम्बर–४ अध्यक्षमा गगन सिंह बिष्ट र तेजबहादुर बोहरा, वडा नम्बर–६ अध्यक्षमा बलराम भट्टले बागी उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।

डडेल्धुरा कांग्रेसमा सभापति कर्णबहादुर मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई धार छन् । दुवै पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको छत्रछायामा हुर्किएका नेता हुन् । पार्टीको तेह्रौं महाधिवेशनताका देउवाको इच्छाविपरीत मल्ल भट्टलाई पराजित गर्दै पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि मल्ल र भट्टबीच ध्रुवीकरण चलिरहेको छ ।

जिल्लामा उम्मेदवारको अन्तिम टुंगो लाग्न नसकेपछि डडेल्धुरा कांग्रेसले केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रले मल्ल पक्षधर नेतालाई पाखा लगाउँदै भट्ट पक्षलाई टिकट दिने निर्णय गरेको थियो । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!